रसुवा । भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका व्यक्तिको खोज तथा उद्धार तीव्र पारिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चीन, भारत र कोरियाका विज्ञ टोलीले माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र रूपमा भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
बाढीका कारण मृत्यु भएकामध्ये १४० को शव संकलन गरिएको छ । एक सय ३४ वटा शव व्यवस्थापनका लागि नुवाकोट पठाइएको अधिकारीले जानकारी दिए ।
बाढीपछि रसुवामा दुई हजार ५६४ जना सम्पर्कविहीन भएका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार नेपाली सेनाको श्रीनाथ गणका २७, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, सरकारी कर्मचारी ७९, बैंक तथा वित्तीय संस्थाका २६, रसुवाली नागरिक एक हजार २२६, अन्य जिल्लाका ८८२ र पर्यटक २४३ जना हराइरहेका छन् ।






