काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको नीति, सिद्धान्त, विधान र निर्णय विपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार सांसदसहित दर्जनौँ नेता तथा स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको छ।
ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।
सरकारलाई समर्थन गर्ने चार सांसद निष्कासित
पार्टी निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएको भन्दै प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, हेमा बेल्वासे (केसी), भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई निष्कासन गरिएको छ।
जसपाले उनीहरूको कदम पार्टीको नीति र निर्णय विपरीत रहेको निष्कर्ष निकालेको छ। बैठकले लहान नगरपालिकाका उपप्रमुख रामचलित्तर महतोसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई पनि पार्टीबाट निष्कासन गरेको छ।
निष्कासनमा पर्ने वडाध्यक्षहरूमा रमेशकुमार यादव, विजयकुमार महतो, प्रकाशमान श्रेष्ठ, शम्भुकुमार व्यार, मोहम्मद मुस्तकिम र किस्मत राई छन्।
प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईलाई पनि कारबाही गरिएको छ।
पार्टीले विभिन्न स्थानीय तहका दर्जनौँ वडाध्यक्ष तथा सदस्यलाई समेत नीति, सिद्धान्त र विधान विपरीत गतिविधि गरेको आरोपमा निष्कासन गरेको जनाएको छ।
बैठकले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
जसपाले बाढी प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुन:स्थापनाका काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ।
बैठकले ‘अग्रगामी मोर्चा’ गठन गर्ने निर्णयको स्वागत गर्दै त्यसलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।
संगठन सुदृढीकरणका लागि पार्टीले भदौ २१ गते पश्चिम नवलपरासी, २२ गते रुपन्देही तथा २३ गते कपिलवस्तु र दाङमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण सञ्चालन गर्ने तालिका तय गरेको छ।






