टर्की । टर्कीको वार्षिक उपभोक्ता मुद्रास्फीति अगस्ट महिनामा सामान्य घटेर ३१.५१ प्रतिशत कायम भएको छ । अघिल्लो महिना (जुलाई)मा मुद्रास्फीति ३१.७५ प्रतिशत रहेको थियो ।
टर्कीको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार अगस्टमा उपभोक्ता मूल्य अघिल्लो महिनाको तुलनामा १.८४ प्रतिशतले वृद्धि भएको छ ।
योसँगै टर्कीको मूल्यवृद्धि दरमा लगातार तेस्रो महिना गिरावट देखिएको छ । यसअघि, सन् २०२५ को अन्त्यमा ३०.८९ प्रतिशत रहेको वार्षिक मुद्रास्फीति गत मे महिनामा बढेर ३२.६ प्रतिशत पुगेको थियो । प्रतिकूल मौसमका कारण खाद्यवस्तुको मूल्यमा भएको वृद्धि र भू–राजनीतिक तनावका कारण ऊर्जाको लागत बढेपछि मुद्रास्फीतिमा दबाब परेको थियो ।
टर्की विगत एक दशकदेखि उच्च मुद्रास्फीतिको समस्यासँग जुधिरहेको छ । यसैबीच, टर्कीको आर्थिक वृद्धि दरमा पनि सुस्तता आएको छ । अगस्ट ३१ मा सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा टर्कीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले मात्र विस्तार भएको छ । यो दर पहिलो त्रैमासिकमा २.५ प्रतिशत रहेको थियो । यो सरकारले मध्यमकालीन कार्यक्रममार्फत तय गरेको ३.८ प्रतिशतको वार्षिक लक्ष्यभन्दा निकै कम हो । टर्की सरकारले हाल सन् २०२७–२०२९ का लागि नयाँ तीनवर्षे मध्यमकालीन आर्थिक कार्यक्रमलाई अन्तिम रूप दिइरहेको छ ।
सन् २०२७ को केन्द्रीय बजेटसँगै आगामी सेप्टेम्बरमा उक्त कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।






