काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा, बैतडीलगायत जिल्लामा बाढी पहिरोबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
बाजुराका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको क्षति तथा उत्पन्न जोखिमबारे उनले बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासँग टेलिफोनमार्फत जानकारी लिई आवश्यक तयारीका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
त्यसक्रममा मुख्यमन्त्री भट्टले स्थानीय स्तरमा भइरहेको उद्धार, राहत तथा व्यवस्थापनका विषयमा जानकारी लिएको थियो । यसैगरी, बैतडीका विभिन्न क्षेत्रमा बाढी पहिरोका कारण सडक अवरुद्ध हुनेलगायत समस्याबारे पनि उनले प्रजिअ निरौलासँग जानकारी लिएका छन् ।
मुख्यमन्त्री भट्टले बाढी पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने गरी भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन् ।
उनले विपद्का समयमा नागरिकको जनधनको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै उद्धार, राहत तथा सडक सञ्चालनका लागि प्रदेश सरकारका सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन हुनसमेत निर्देशन दिएको निजी सचिवालयले जनाएको छ ।






