रामहरि सर,
तपाईँलाई सेवा निवृत्त जीवनको शुभकामना दिँदै सम्पूर्ण कर्मचारी साथीहरूको उपस्थितिमा सम्मानपूर्वक बिदाइ गर्ने तयारी गरिरहेका थियौँ। तर आज यस्तो दिन आयो कि तपाईँलाई सेवा निवृत्तिको बिदाइ होइन, यो संसारबाटै बिदाइ गर्नुपर्ने भयो।
आज भदौ २२ गते, ‘निजामती सेवा दिवस’। एउटा यस्तो दिन, जुन दिन हामीले तपाईंको लामो सरकारी सेवापछि सुखद सेवा निवृत्त जीवनको शुभकामना दिनुपर्ने थियो।
तर विडम्बना !
आज नै तपाईं सम्पर्कविहीन हुनुभएको १३औँ दिन, तपाईं र म्याडमको पुण्यतिथि तथा पितृप्रसाद ग्रहण गर्ने दिन पनि रहेछ।
सर, तपाईं र मबीच कयौँ पटक भएका छलफल र संवाद आज बारम्बार सम्झिरहेको छु। सरकारी जागिरबाट स्वेच्छिक अवकाश लिनुभएको दिनदेखि नै तपाईंको नयाँ जीवनका बारेमा हामीले धेरै कुरा गरेका थियौँ।
असार १६ गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको थियो। सरकारले ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी ऐनको तयारी गरिरहेको भन्ने अपुष्ट समाचारलाई समेत आधार मानेर निर्णय गर्नुभएको थियो। पछि ऐन तोकिएको समयमा जारी हुन नसक्दा तपाईंले हाँस्दै भन्नुभएको थियो, “हामीलाई त घाटा पो लाग्यो सर !”
मैले पनि हाँस्दै भनेको थिएँ, “अब जागिरे जीवनबाट विश्राम लिएर सामाजिक सेवा गर्नुहोस् सर। परिवारसँग समय बिताउनुहोस्। बुढी हुनुभएको आमासँगै बस्नुहोस्।”
तपाईंले जागिर छोडेकोमा कहिल्यै पश्चात्ताप गर्नुभएको थिएन। बरु सेवा निवृत्तिपछिको जीवनलाई आफ्नै तरिकाले सुखद र अर्थपूर्ण बनाउने सोचमा हुनुहुन्थ्यो।
गोसाइँकुण्ड तीर्थयात्रामा जानुभन्दा केही दिनअघि मात्र भएको हाम्रो संवाद अझै कानमा गुन्जिरहेको छ। तपाईंले भन्नुभएको थियो, “कर्मचारीहरूको तर्फबाट जिल्लामा राख्ने बिदाइ तथा सम्मान कार्यक्रम केही दिनपछि राख्नुस् है, म तीर्थयात्रा सकेर फर्कन्छु।”
हामीले पनि तपाईं फर्किएपछि भव्य रूपमा सम्मान र बिदाइ गर्ने सोचिरहेका थियौँ। हामी यता तपाईंको सेवा निवृत्त जीवनको सुखद सुरुवातको कामना गर्दै बिदाइ तथा सम्मान कार्यक्रमको तयारी गरिरहेका थियौँ।
तर एक्कासि भोटेकोशीमा आएको बाढीले सबै सपना, योजना र आशा बगाएर लग्यो।
पालुङटारबाट सम्पर्कविहीन भएका तीर्थयात्रीहरूको सूचीमा तपाईं, म्याडम, मेरो भान्जा, दिदी, बहिनी तथा अन्य इष्टमित्र र टोल–छिमेकीहरू रहेको खबर आयो। तपाईंहरू चढेको बस बाढीमा परेको र बसबाट हाम फालेर जोगिनुभएका ६ जनाबाहेक अन्य यात्रुहरू बाढीमा परेको खबरले त्यस दिनदेखि नै मन स्तब्ध भयो।
त्यसपछि म बारम्बार तपाईंसँग भएको हाम्रो पछिल्लो संवाद सम्झिरहेँ, सर।
गौरीघाट क्षेत्रमा म्याडमको शव भेटिएको खबर आयो। उहाँको अन्त्येष्टि भयो, काजकिरिया पनि चलिरहेको थियो। तर पनि मनको कुनै कुनामा एउटा सानो आशा बाँकी थियो—सायद सर कतैबाट सम्पर्कमा आउनुहुन्छ कि !
हामी सबै प्रतीक्षामै थियौँ।
तर आज तपाईं र म्याडमको १३औँ पुण्यतिथि भन्ने सन्देश प्राप्त भएपछि मनले बल्ल स्वीकार गर्न बाध्य भयो—अब तपाईं सम्पर्कमा आउने आशा पनि रहेनछ।
सर, तपाईँलाई हामीले सेवा निवृत्त जीवनको शुभकामना दिँदै सम्मानपूर्वक बिदाइ गर्न चाहेका थियौँ। तर आज आँखा रसाउँदै, भारी मन लिएर तपाईँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुपर्ने भयो।
तपाईंको सरल स्वभाव, सहकर्मीप्रतिको आत्मीयता, हाँसो, संवाद र साथ सधैँ सम्झनामा रहनेछन्। तपाईंको अभाव केवल परिवारले मात्र होइन, हामी सम्पूर्ण सहकर्मी कर्मचारी साथीहरूले पनि सधैँ महसुस गर्नेछौँ।
तपाईं तथा म्याडमसहित यस दुःखद विपद्मा सम्पर्कविहीन भई दिवंगत हुनुभएका सम्पूर्ण आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।
यस असह्य पीडाको घडीमा आमा योगमाया देवकोटा, भाइहरू सागर, समुद्र र सरोजलगायत सम्पूर्ण शोकाकुल परिवारजन तथा हामी सबैलाई यो अकल्पनीय पीडा सहने धैर्य र शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछु।
हार्दिक श्रद्धाञ्जली सर।
तपाईंको आत्माले शान्ति पाओस्।






