काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक प्रत्यक्ष प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी)ले प्राप्त गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)को कार्यालयमा सोमबार खोलिएको आर्थिक प्रस्तावमा हिमालय स्पोर्ट्सले सबैभन्दा बढी रकम कबोल गर्दै प्रसारण अधिकार सुरक्षित गरेको हो।
कम्पनीले करबाहेक १४ करोड ५६ लाख तथा करसहित १७ करोड २४ लाख रुपैयाँ प्रस्ताव गरेको थियो। एनपीएलको प्रसारण अधिकारका लागि गरिएको यो अहिलेसम्मकै कीर्तिमानी बोलकबोल भएको कम्पनीले जनाएको छ।
गत वर्षभन्दा पाँच गुणा बढी मूल्य
हिमालय स्पोर्ट्सले कबोल गरेको रकम गत वर्षको एनपीएल प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी रहेको छ। यो रकम चालु संस्करणका लागि निर्धारण गरिएको न्यूनतम बोलकबोल मूल्यभन्दा झन्डै साढे दुई गुणा बढी भएको कम्पनीको भनाइ छ।
प्रसारण अधिकारको मूल्यमा भएको उल्लेख्य वृद्धिले एनपीएलको व्यावसायिक सम्भावना र नेपाली क्रिकेटप्रति निजी क्षेत्रको बढ्दो आकर्षणलाई देखाएको छ।
‘एनपीएल ठूलो लगानीको हकदार’
हिमालय स्पोर्ट्सले विज्ञप्ति जारी गर्दै एनपीएलको प्रसारण अधिकार प्राप्त गर्नु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ।
“एनपीएल यति ठूलो स्तरको लगानीको हकदार छ भन्ने हाम्रो दृढ विश्वास हो। नेपाल क्रिकेट संघले यस प्रतियोगितालाई यस क्षेत्रकै अग्रणी खेलकुद ‘प्रोपर्टी’का रूपमा उचाइ दिनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ,” कम्पनीले भनेको छ।
व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा हासिल गर्न सकिने उपलब्धिको उदाहरण एनपीएलको बढ्दो आर्थिक मूल्यले प्रस्तुत गरेको कम्पनीको निष्कर्ष छ।
नेपाली क्रिकेटमा दीर्घकालीन प्रतिबद्धता
हिमालय स्पोर्ट्सले एनपीएलको प्रसारण अधिकार प्राप्तिलाई व्यावसायिक खरिदमा मात्र सीमित नराखी नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धताका रूपमा लिएको जनाएको छ।
प्रसारण अधिकारको आर्थिक वृद्धिले नेपाली क्रिकेटको समग्र प्रणालीलाई बलियो बनाउन, थप स्रोतसाधन परिचालन गर्न र खेलाडी तथा खेल विकासका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
हिमालय स्पोर्ट्सले एनपीएलका खेललाई उच्च प्रसारण गुणस्तर र फराकिलो पहुँचसहित स्वदेश तथा विदेशका दर्शकमाझ पुर्याउने प्रतिबद्धता जनाएको छ।






