काठमाडौँ । नेपाल टेलिकमका कर्मचारीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि दुई करोड दुई लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्।
टेलिकमका सम्पूर्ण कर्मचारीका तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
अर्थमन्त्रीलाई रकम हस्तान्तरण
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल०ले भदौ २२ गते अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेकी हुन्।
बाढीबाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीबाट रकम संकलन गरिएको टेलिकमले जनाएको छ।
संस्थागत सहयोग पनि गरिने
कर्मचारीका तर्फबाट दुई करोड रुपैयाँभन्दा बढी सहयोग उपलब्ध गराएको नेपाल टेलिकमले संस्थागत रूपमा पनि थप आर्थिक सहयोग गर्ने भएको छ।
कम्पनीले केही दिनभित्रै संस्थागत सहयोग उपलब्ध गराउने जनाएको छ। यद्यपि, त्यसबापत उपलब्ध गराइने रकम भने खुलाइएको छैन।






