काठमाडौँ । झापाको दमकमा ठूलो परिमाणको लागु औषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका-२ बाट ४१।२३० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई आज नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, बौकामजरफका १९ वर्षीय मोहमद फारुक र सोही ठेगानाका २५ वर्षीय चन्दनकुमार मण्डल रहेका छन् । उनीहरूको साथबाट प्रहरीले एक थान मोबाइल बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद लागु औषध र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक, झापामा बुझाइएको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान अघि बढाएको ब्युरोले जनाएको छ ।






