काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको खोज, उद्धार र राहतमा राज्यले निर्वाह गरिरहेको भूमिकाको बचाउ गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै लामिछानेले ‘राज्यले केही गरेन’ र ‘राज्य कहाँ छ ?’ भन्ने प्रश्नको जवाफ विपद् प्रभावित क्षेत्रमा भइरहेको कामबाट दिनुपर्ने बताए।
‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु,’ उनले भने, ‘राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ भनेर दृश्यसहित प्रस्ट्याउनु हो।’
खोज तथा उद्धारमा राज्य
लामिछानेले भग्नावशेष र सुरुङभित्र फसेका तथा बेपत्ता नागरिकको खोजीमा राज्य संयन्त्र परिचालित रहेको बताए।
‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने।
सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकलाई आश्रय दिन राज्य दिनरात खटिरहेको उनको भनाइ थियो।
पूर्वाधारसँगै नागरिकको भरोसा जोड्ने प्रयास
लामिछानेले विपद्ले भत्काएका सडक र पुलको पुनर्निर्माण मात्र नभई नागरिकमा टुटेको भरोसा पुन:स्थापित गर्नु पनि राज्यको दायित्व भएको बताए।
‘राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुल मात्रै होइन, विपद्ले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ,’ उनले भने।
सुरक्षित संरचना र पूर्वतयारीमा जोड
आगामी दिनमा यस्तै विपदबाट हुने क्षति न्यूनीकरण गर्न बलियो पूर्वतयारी र सुरक्षित संरचना निर्माणको खाका तयार भइरहेको लामिछानेले बताए।
स्रोत-साधनको अभाव, सीमित क्षमता र थकानका बाबजुद राज्य नागरिकको जीवनरक्षाका लागि ढाल बनेर उभिएको उनको भनाइ थियो।






