काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार, उपचार र राहत वितरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उनले बाढी प्रतिकार्यमा सरकारको बचाउ गरेका हुन् । उनले विपद्को समयमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने पनि बताए ।
उनले विपद्को सुरुवाती घण्टादेखि सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार, राहत र उपचारको काम अघि बढाएको बताए । उनले हवाई उद्धारको ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको दाबी पनि गरे ।
उनले घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकार गम्भीर भएर लागिपरेको पनि बताए ।
उनले भने, ‘यो विपद्को समयमा सरकारको भूमिकालाई सत्ता र प्रपितपक्षको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिका सुरुकै घटनामा सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, राहत र उपचारको काम शुरु गर्यो । हजारौँ सुरक्षाकर्मीहरू तत्काल प्रभावित क्षेत्रमा खटिए । तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो । घाइतेहरूको उद्धार र उपचार, विस्थापित परिवारको लागि अस्थायी बसोबास र खाद्यान्नको लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिनँ । राज्यले बाढी प्रभावित नागरिकको सुरक्षा र आधारभूत आवश्यकताको पूर्ण जिम्मेवारी लिएको छ ।’
सभापति लामिछानेले बाढी प्रभावित नागरिकको सुरक्षा तथा आधारभूत आवश्यकताको पूर्ण जिम्मेवारी सरकारले लिइरहेको समेत बताए ।






