काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) पदको अन्तर्वार्ताका लागि छनोट भएका तीन उम्मेदवारको नाम सूचीबाट हटाएको छ।
आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीले बुधबार जारी गरेको सूचनाअनुसार प्रशासन सेवाअन्तर्गत लेखा र राजस्व समूहका सुरेन्द्र कार्की, अन्जु चौधरी र वाचस्पति सुनुवारको नाम अन्तर्वार्ताका लागि प्रकाशित सूचीबाट हटाइएको हो।
आयोगले लिखित परीक्षाबाट ‘इन बास्केट एक्सरसाइज’ तथा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको अनुभवसम्बन्धी विवरण जाँच गर्दा उनीहरूले राजपत्राङ्कित तृतीय श्रेणीको पदमा हासिल गरेको अनुभव पेस गरेको जनाएको छ।
लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को दफा ११ को उपदफा (५) को खण्ड (ज) मा राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको जुन सेवा वा समूहको पदमा आवेदन गर्ने हो, सोही सेवा वा समूहको राजपत्राङ्कित तृतीय श्रेणीको पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेपछिको अधिकृत स्तरको अनुभवलाई मात्र मान्यता दिने व्यवस्था छ।
उक्त व्यवस्थासँग उम्मेदवारहरूले पेस गरेको अनुभव नमिलेको आयोगले उल्लेख गरेको छ। लोक सेवा आयोग ऐन, २०७९ को दफा ३८ को उपदफा (३) अनुसार उनीहरूको दरखास्त र परीक्षा रद्द गरी आयोगले अन्तर्वार्ता सूचीबाट नाम हटाउने निर्णय गरेको हो ।






