काठमाडौँ । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले विपद्को समयमा सबै राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् प्रतिकार्यमा जुट्नुपर्ने बताएकी छन् ।
बिहीबार सिंहदरबारमा नेपाली काँग्रेसले आह्वान गरेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरण कार्यमा विपक्षी दलहरू सरकारको साथमा रहेको पनि बताइन् ।
उनले विपद् प्रतिकार्यको पहिलो चरणको काम सम्पन्न भइसकेपछि मात्र राजनीतिक एजेण्डा अगाडि बढाउने विषयमा पनि बैठकमा छलफल भएको बताइन् । उनले सिंगो मुलुक नै विपत्तिमा परेको समयमा दलहरूका राजनीतिक मुद्दाहरू गौण हुने बताइन्।
उनले भनिन्, ‘हामीले यति ठूलो विपत्तिको सामना गरिरहेको बेला हामीले आफ्ना राजनीतिक स्वार्थहरू एकातिर पन्छ्याएर हामी सबै एकाकार भएर विपत्तिको सामना गर्ने, विपदमा परेमा नागरिकलाई राहत, उद्धारका काम लाग्ने कुरा भई नै हाल्यो । सरकारले गरिरहेका हरेक कदममा साथमै रहेका पनि छौँ । विपद्को पहिलो चरणको कामहरू सकिसकेपछि हामी हाम्रा राजनीतिक एजेन्डाहरूलाई पनि अगाडि बढाउँछौँ । आजको दिनमा हाम्रो राजनीतिक एजेण्डा गौण छ । आजमा मुलुकमा विपद्को कारण नागरिकले भोगिरहेको अप्ठ्यारो राजनीतिक कुरा गरेका छैनौँ । विपद् प्रतिकार्यका कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नै छलफल भयो ।’
१० भदोमा रसुवाको भोटेकोशी–त्रिशूली कोरिडोरमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ ।






