काठमाडौँ । प्रहरीले काठमाडौँको दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ चेकपोस्टबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले भदौ २७ गते सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले लुकाइछिपाइ ल्याएको १३ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको हो।
पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका-२ घर भई ललितपुरको टीकाभैरव बस्ने २० वर्षीय एमडी बुकरान, कैलालीको जानकी नगरपालिका-१ घर भई काठमाडौँको शंखमूल बस्ने २१ वर्षीय शंकर चौधरी र मुगुको खत्याड गाउँपालिका-१ घर भई काठमाडौँको बानेश्वर बस्ने १९ वर्षीय सागर रोका रहेका छन्।
सात दिनको म्याद थप
प्रहरीले पक्राउ परेका तीनै जनालाई लागूऔषधसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
उनीहरूमाथि प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।






