काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए । आज दिउँसो महाकवि देवकोटा सङ्ग्रहालय मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी गर्न लागिएको उनले बताए । कार्यक्रममा उनका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते अर्थात् कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा)का दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उनको निधन भने २०१६ साल भदौ २९ गते भएको हो ।
दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रा नन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेको भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा उनले महत्त्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे ।
विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराएका थिए । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एक दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो ।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।






