काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले रसुवा र भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको ‘हिम नदी डिजास्टर’का रूपमा बुझेर सरकारले नयाँ विपद् व्यवस्थापन नीति बनाउनुपर्ने बताएकी छन्।
मंगलवार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रानाले भोटेकोशी वा रसुवा बाढी भनेर मात्र घटनालाई परिभाषित गर्दा विपद्को प्रकृति स्पष्ट नहुने बताएकी हुन् ।
हिम पहिरो तथा हिउँ पग्लिने क्रमबाट बनेको पानीको ठूलो बहावले नदीमा असामान्य बाढी ल्याएको भन्दै उनले यसलाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्ने बताइन् ।
उनले ग्लोबल वार्मिङका कारण वर्षौँदेखि जमेर बसेको हिउँ पग्लिने तथा हिमताल फुट्ने जस्ता घटनाबाट यस्ता विनाशकारी विपद् निम्तिन सक्ने बताइन् ।
आगामी दिनमा यस्ता जोखिमलाई ध्यानमा राखेर वैज्ञानिक अध्ययनमा आधारित बस्ती विकास तथा विपद् व्यवस्थापन नीति आवश्यक रहेको उनको भनाइ छ ।
रानाले नदी करिडोरमा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दा उनीहरूको सम्पत्तिको अधिकारसमेत सुरक्षित हुने गरी स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने बताइन् ।
उनकाअनुसार नदी किनारबाट निश्चित दूरी कायम गरी बस्ती विकास गर्ने कानूनी व्यवस्था भएपनि व्यवहारमा जोखिमयुक्त स्थानमा बस्ती बसिरहेका छन् । अब वैज्ञानिक अध्ययनका आधारमा सुरक्षित स्थान पहिचान गरी त्यहाँ व्यवस्थित बस्ती विकास गर्नुपर्ने उनले बताइन् ।
सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नागरिकलाई विद्युत्, सडक, खानेपानी लगायत आधारभूत सेवा तथा सुविधाको सुनिश्चितता गर्नुपर्ने र विपदमा सम्पत्ति गुमाएका परिवारलाई सरकारले सक्दो सहयोग उपलब्ध गराउनुपर्ने रानाको भनाइ छ ।






