काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विश्वकर्मा पूजाका दिन आफ्ना विद्युत् महसुल संकलन काउन्टर तथा अधिकांश प्रशासनिक सेवा बन्द रहने जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ असोज ९ गते विश्वकर्मा पूजा परेकाले अत्यावश्यक सेवाबाहेकका प्रशासनिक कार्य तथा आयरमहसुल संकलन काउन्टर बन्द रहनेछन्।
प्राधिकरणका अनुसार ‘नो लाइट’, सबस्टेसन, ग्राहक सेवा तथा मर्मतसम्भारलगायतका अत्यावश्यक तथा प्राविधिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहनेछन्।
महसुल संकलन काउन्टर बन्द रहने भएकाले ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।
यद्यपि, काउन्टर बन्द रहे पनि अनलाइन पेमेन्ट सेवा सञ्चालनमा रहने भएकाले ग्राहकले अनलाइन माध्यमबाट विद्युत् महसुल भुक्तानी गर्न सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले उक्त सूचना जारी गर्दै विश्वकर्मा पूजाका दिन आवश्यक सेवा सञ्चालनका लागि सम्बन्धित निकायलाई जानकारी गराएको हो।







