लमजुङ । पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुङ्गा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।
उनका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुंगा खसेका थिए । तीमध्ये एउटा ढुंगा निकै ठूलो थियो । सडक अवरुद्ध भएपछि उक्त ढुंगा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो । पहिलो पटकको विस्फोटबाट ढुंगा पूर्ण रूपमा नफुटेपछि आज पुनः विस्फोट गराई ढुंगा फुटाएर पहिरो पन्छाइएको उनले बताए।
सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि मनाङतर्फ आवतजावत गर्ने यात्रुलाई सहज भएको छ । ठूला सवारीसाधन सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताए । करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो । मनाङवासीको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आवागमनका लागि यो सडक महत्त्वपूर्ण मानिन्छ ।






