काठमाडौँ । यातायात व्यवस्था विभागले बाढीका कारण यातायात क्षेत्रमा पुगेको क्षतिको विवरण उपलब्ध गराउन सरोकारवाला निकाय तथा आमनागरिकसँग आग्रह गरेको छ।
यातायात पूर्वाधार, सवारीसाधन तथा सेवा सञ्चालनमा विपद्ले पुर्याएको क्षतिको विवरण संकलन गर्ने उद्देश्यले विभागले सार्वजनिक सूचना जारी गर्दै जानकारी मागेको हो।
पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रमा बाढीबाट भएको क्षतिको अवस्था अध्ययन तथा विवरण संकलन गर्न समिति गठन गरेको छ। सोही समितिलाई आवश्यक तथ्यांक र सूचना उपलब्ध गराउने प्रयोजनका लागि विभागले विवरण संकलन थालेको जनाएको छ।
विभागका अनुसार सरकारी निकाय, गैरसरकारी संस्था, निजी संस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता तथा आमनागरिकले आफूसँग उपलब्ध क्षतिको विवरण पठाउन सक्नेछन्।
बाढीबाट यातायात क्षेत्रमा परेको असर तथा क्षतिसम्बन्धी विवरण विभागको आधिकारिक इमेलमार्फत वा लिखित रूपमा उपलब्ध गराउन सकिने सूचनामा उल्लेख छ।
सरोकारवालाबाट प्राप्त विवरणले यातायात क्षेत्रको क्षति पहिचान, त्यसको यथार्थ मूल्यांकन र पुन:स्थापनासम्बन्धी आगामी योजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






