काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले ‘ग्रे जोन’ नामक सञ्चारमाध्यममा प्रकाशित सामग्रीबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न आवश्यक नरहेको बताएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले उक्त प्रकाशनको प्रामाणिकता र विश्वसनीयतामाथि प्रश्न उठाएका हुन्।
फलोअर्सलाई मात्रै आधार मान्न नमिल्ने
सामाजिक सञ्जालमा फलोअर्सको संख्या धेरै हुँदैमा कुनै सञ्चारमाध्यमलाई विश्वसनीय मान्न नसकिने मन्त्री पोखरेलको भनाइ छ। प्रकाशित सामग्रीमाथि प्रतिक्रिया दिनुअघि सम्बन्धित सञ्चारमाध्यमको आधिकारिकता र प्रामाणिकता हेर्नुपर्ने उनले बताए।
“त्यो ‘ग्रे जोन’लाई अहिले नेपालको मिडियाहरूमा आएको हुनाले नेपालका नागरिकहरूले त सुन्नुभयो। अमेरिकामै गएर सुन्नु, त्यहाँ कसैले सुनेको हुँदैन। त्यसको अथेन्टिसिटी नै नभएको एउटा र्यान्डम कुनै म्यागेजिनले प्रकाशन गरेकोमा त्यसमा टीकाटिप्पणी गर्न सरकारको आवश्यकता छैन,” मन्त्री पोखरेलले भनेका छन्।
कारबाहीको प्रश्नमा मौन
सञ्चारकर्मीले ‘ग्रे जोन’विरुद्ध कारबाही गर्न सरकारसँग अधिकार र क्षमता भए-नभएको विषयमा पनि प्रश्न गरेका थिए। तर मन्त्री पोखरेलले सम्भावित कारबाही वा त्यसको कानुनी आधारबारे स्पष्ट जवाफ दिएनन्।
‘ग्रे जोन’मा प्रकाशित रिपोर्टले नेपालमा भएको जेन जेड आन्दोलन, प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत केही राजनीतिक व्यक्तिको उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गरेको छ। उक्त दाबीको स्वतन्त्र पुष्टि भएको विवरण भने उपलब्ध छैन।
संविधान दिवसको तयारी अन्तिम चरणमा
मन्त्री पोखरेलले संविधान दिवस मनाउने तयारी अन्तिम चरणमा पुगेको पनि जानकारी दिए। उनका अनुसार संविधान दिवससम्बन्धी कार्यदलले दिएको प्रतिवेदन र सुझावका आधारमा कार्यक्रम कार्यान्वयनको चरणमा पुगेका छन्।
संविधान दिवसका अवसरमा शनिबार बिहान काठमाडौँको टुँडिखेलमा मूल समारोह आयोजना गरिनेछ। सोही दिन दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति कार्यालयमा अर्को कार्यक्रम आयोजना हुने मन्त्री पोखरेलले बताए।






