इरान । इरानका उपगृहमन्त्री तथा राजनीतिक मामिलाका प्रवक्ता अली जेइनिभान्डले शनिवार देशमा अत्यावश्यक वस्तुको आपूर्तिलाई लिएर कुनै चिन्ता नरहेको बताएका छन् । उनले ‘शत्रुहरूको गलत प्रचार’बाट प्रभावित नहुन जनतालाई आग्रह गरेका हुन् ।
तेहरानमा आयोजित पत्रकार सम्मेलनमा उनले देशमा अत्यावश्यक वस्तु ठूलो मात्रामा आयात भइरहेकाले अहिले भण्डारण क्षमताको अभाव देखिएको बताए । यसका लागि सरकारले निजी क्षेत्रलाई समेत सहयोग गर्न आह्वान गरेको उनले जानकारी दिए।
जेइनिभान्डले भने, ‘इरानी जनताले अत्यावश्यक वस्तुको आपूर्तिबारे चिन्ता गर्नुपर्दैन र शत्रुहरूको गलत प्रचारबाट प्रभावित हुनु हुँदैन । हामी यस क्षेत्रमा प्रभावकारी रूपमा काम गरिरहेका छौँ ।’
उनले देशभित्र विभिन्न वस्तुको मूल्य बढिरहेको स्वीकार गर्दै समस्या समाधान गर्न सरकारी अधिकारीहरूले आवश्यक कदम चालिरहेको बताए। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आर्थिक दबाब थप कडा बनाउने घोषणा गरे । उनले इरानलाई सहयोग गर्ने कुनैपनि देश वा पक्षविरुद्ध ‘अभूतपूर्व स्तरको आर्थिक युद्ध र एक्ल्याउने नीति’ अघि बढाइने बताएका छन् ।
समाचारअनुसार अमेरिका र इरानबीच जुन १८ मा क्षेत्रीय युद्ध अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीअनुसार ६० दिनभित्र थप वार्ता गरी अन्तिम सम्झौतामा पुग्ने समयसीमा अगस्ट १७ मा समाप्त भएको उल्लेख गरिएको छ ।






