काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा निरन्तर सहभागिता जनाए पनि जलवायुजन्य क्षतिबापत अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताएका छन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै परियारले जलवायु परिवर्तनबाट नेपालले व्यहोरेको क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा अधिकार र न्यायको विषयका रूपमा उठाउनुपर्ने बताए। उनले अब कोपलगायतका अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व गर्ने मात्र नभई त्यसबाट ठोस परिणाम निकाल्ने गरी नेपालको पहल अघि बढाउनुपर्ने धारणा राखे।
परियारले जलवायुजन्य क्षतिको क्षतिपूर्ति प्राप्तिका लागि सरकारको कूटनीतिक पहललाई सुदृढ बनाउन संसदीय समितिले समेत भूमिका खेल्नुपर्ने बताए।
उनले यस विषयमा अध्ययन गर्न कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गत छुट्टै कार्यदल वा उपसमिति गठन गर्न प्रस्ताव गरे।
‘कोपलगायतका अन्तर्राष्ट्रिय सम्मेलनमा ठूलो संख्यामा नेपालको प्रतिनिधित्व हुँदै आएको छ, तर त्यसले अपेक्षित परिणाम ल्याउन सकेको छैन,’ परियारले भने, ‘अब प्रतिनिधित्व मात्रै गर्ने शैली बदल्नुपर्छ। परिणाम आउने गरी काम गर्नुपर्छ।’
उनले जलवायु न्यायको विषय नेपालको कानुनी तथा अधिकारसम्बन्धी पक्षसँग समेत जोडिएको उल्लेख गर्दै समितिले त्यसबारे अध्ययन र आवश्यक पहल गर्नुपर्ने बताए।
परियारका अनुसार जलवायु परिवर्तनबाट नेपालले व्यहोरेको क्षति, क्षतिपूर्तिको अधिकार तथा अन्तर्राष्ट्रिय दायित्वका विषयमा तथ्य र प्रमाणमा आधारित अध्ययन आवश्यक छ। त्यसका आधारमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा स्पष्ट रूपमा प्रस्तुत गर्न सकिने उनको भनाइ छ।
उनले सरकारको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन संसद् र संसदीय समितिबाट आवश्यक सहयोग तथा अनुगमन हुनुपर्नेमा समेत जोड दिए।
यसअघि पनि परियारले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु न्याय र अधिकारको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने धारणा सार्वजनिक रूपमा राखेका थिए।






