काठमाडौँ । त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरिएको कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी गोविन्द थपलियाले जानकारी दिएका छन्।
समितिलाई घटनाको अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
चालकको अवस्था चिन्ताजनक
त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। घटनामा बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्।
प्रहरीले उनको उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक छ।
आगलागीअघि चालक र ट्राफिक प्रहरीबीच विवाद
प्रहरीका अनुसार बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। विवादपछि चालकले नै बसमा आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ।
यद्यपि, आगलागीको वास्तविक कारण र घटनासँग जोडिएका परिस्थितिबारे छानबिन समितिको प्रतिवेदनपछि मात्र निष्कर्षमा पुगिने प्रहरीले जनाएको छ।
पाँच दिनभित्र प्रतिवेदन
समितिले चालक र ट्राफिक प्रहरीबीच भएको भनिएको विवाद, घटनाको क्रम, आगलागीको कारण तथा त्यस क्रममा सुरक्षाकर्मीबाट भएका कामकारबाहीको अध्ययन गर्नेछ।
छानबिनबाट देखिएका तथ्यका आधारमा थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।






