काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य कर्ण थापाले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको टिप्पणी गरेका छन् ।
बुधवार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले पार्टी गत फागुन २१ मा सम्पन्न निर्वाचनमा भएको अप्राकृतिक पराजयसँगै अध्यक्ष ओलीको सान्दर्भिकता समाप्त भइसकेको टिप्पणी गरे ।
अध्यक्ष ओलीले पराजयको जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्नुपर्नेमा थापाको जोड छ । उनले पार्टी पुनर्गठनको विषय कुनै व्यक्तिको व्यक्तिगत सोचको उपज नभई मुलुकको पछिल्लो राजनीतिक परिवेश, निर्वाचनमा एमालेले व्यहोरेको पराजयको परिणाम भएको बताए । उनले गत २१ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ओलीसहित सचिवालयका सबै सदस्य पराजित भएको उल्लेख गर्दै ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्व र उक्त नेतृत्वले गरेको राजनीतिक प्रक्षेपण तथा विश्लेषणसमेत असफल भइसकेको जिकिर गरे ।
उनले भने, ‘पार्टी पुनर्गठनको विषय कुनै व्यक्तिको मस्तिष्कको उपज होइन । परिवेश, परिस्थिति, जनआन्दोलन, त्योभन्दा पछिको निर्वाचन, अहिले हामीले भोग्नुपरेको पराजयको उपज हो । नेकपा (एमाले) उठ्छ कि उठ्दैन ? भन्ने प्रश्न नै खडा हुने गरी अप्राकृतिक पराजय भयो । त्यसको नेतृत्व कसले गर्नुभएको थियो त भन्दा पार्टी अध्यक्षले गर्नुभएको थियो । अनि नेतृत्व गर्ने मान्छे आफू पनि पराजित हुनुभएको छ । सचिवालयका सबै मान्छेहरू पराजित भएका छन् । यसको मतलब ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको सम्पूर्ण नेतृत्व, त्यो नेतृत्वले गरेको प्रक्षेपण, विश्लेषण सबै कुरा पराजित भएको छ । यसको नेतृत्व अध्यक्षले गर्नुभएको कारण अब पार्टीमा उहाँको सान्दर्भिकता सकियो । उहाँको अनुमान फेल भयो, उहाँको विश्लेषण फेल भयो, उहाँ आफैँ पराजित हुनुभयो । योभन्दा ठुलो असफलताको लागि कुनै प्रमाण चाहिन्छ ? यसको जिम्मेवारी लिनु पर्दैन ? जिम्मेवारी लिएर उहाँले बाटो प्रशस्त गरिदिनुपर्छ, छोड्नुपर्छ । यो बाधा व्यवधानहरू सिर्जना गर्ने होइन । गाँठो पार्ने ठाउँमा हुनुहुन्न, निकास दिने ठाउँमा हुनुहुन्छ । यसको लागि कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ । सबै समाधानका उपाय त्यसमा समावेश गरिएको छ ।’
उनले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमार्फत निकास खोजिनुपर्नेमा जोड दिए।






