काठमाडौँ । अविरल वर्षासँगै मौसम प्रतिकूल भएपछि नेपाली काँग्रेस स्याङ्जाले प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन स्थगित गरेको छ।
काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा असोज १० गतेका लागि तय भएको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मौसमका कारण स्थगित गरिएको हो।
काँग्रेस स्याङ्जाका जिल्ला सचिव दामोदर लम्सालका अनुसार आगामी केही दिनसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान तथा सम्बन्धित निकायले जारी गरेको सतर्कता सूचनालाई मध्यनजर गर्दै अधिवेशनको मिति सारिएको हो।
केन्द्रीय समितिले असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न दिएको समय सीमाअनुसार जिल्लामा संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको सचिव लम्सालले जानकारी दिए।
संशोधित कार्यतालिका अनुसार असोज १२ गते साँझ ७ बजेसम्म मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता, अन्तिम सूची प्रकाशन तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसपछि असोज १३ गते बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया अघि बढाइने काँग्रेस स्याङ्जाले जनाएको छ।
वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भएपछि मौसमको अवस्था र केन्द्रीय समितिले तोकेको समयसीमालाई ध्यानमा राख्दै नयाँ कार्यतालिका तय गरिएको हो।






