काठमाडौँ । नेपाली सेनाका २ हजार ९६८ सैनिकले नौ महिने सैन्य आधार तालिम पूरा गरेका छन्। सेनाका विभिन्न तालिम केन्द्रसहित २२ स्थानमा सञ्चालित तालिम पूरा गरेपछि उनीहरू शुक्रबार दीक्षित भएका हुन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार दीक्षित हुनेमा २ हजार ५०२ पुरुष र ४६६ महिला छन्।
विभिन्न स्थानमा आयोजित अन्तिम दलेल कवाजमा रथीवृन्दले निरीक्षण गरेका थिए। समारोहमा उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गरिएको सेनाले जनाएको छ। जिल्ला तथा स्थानीय निकायका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी र नवनियुक्त सिपाहीका परिवारजनसमेत समारोहमा उपस्थित थिए।






