टर्की । टर्कीको पुँजी बजारमा देखिएको गम्भीर लगानी कोष संकटका कारण करिव साढे चार लाखभन्दा बढी लगानीकर्ताको बचत जोखिममा परेको छ ।
शेयर बजारमा कृत्रिम मूल्य वृद्धि गरी ठगी गरेको आरोपमा सातवटा पोर्टफोलियो व्यवस्थापन कम्पनीहरू खारेजीको प्रक्रियामा छन् भने टर्कीको पुँजी बजार बोर्डले यस प्रकरणमा वृहत् अनुसन्धान अघि बढाएको छ ।
सेप्टेम्बर १७ मा जारी गरिएको आदेशअनुसार सातवटा पोर्टफोलियो व्यवस्थापन कम्पनीहरू मातहतका १३१ वटा कोषहरूलाई खारेजी प्रक्रियामा लगिएको छ । आधिकारिक तथ्याङ्कअनुसार यसबाट ४ लाख ५५ हजार ७५८ लगानीकर्ता प्रभावित भएका छन् ।
बजारमा कृत्रिम रूपमा सेयरको भाउ बढाएर सर्वसाधारणलाई आकर्षित गर्ने र पछि बजार खस्किएपछि लगानीकर्ता फसाउने गिरोह सक्रिय भएको पाइएको छ । यस संकटले गर्दा गत साता इस्तानबुल स्टक एक्सचेन्जको सूचकांकमा ७.५ प्रतिशतभन्दा बढीको गिरावट आएको थियो । जसले टर्कीको समग्र आर्थिक स्थायित्वमाथि प्रश्न उठाएको छ। वित्तीय विज्ञहरूका अनुसार ५ लिरा मूल्यका शेयरलाई अनावश्यक रूपमा ५०० लिरासम्म पुर्याइएको थियो, जसले गर्दा साना लगानीकर्ताहरू सबैभन्दा बढी प्रभावित भएका छन् । टर्कीका नियामक निकायहरूले प्रभावित कोषहरूको खारेजी अवधि तीन महिनाबाट बढाएर छ महिना पुर्याएका छन् । पुँजी बजारका कानुनविद् याल्सिन ओजगे ओकातकाअनुसार यो प्रक्रिया सामान्य कर्पोरेट टाट पल्टिने प्रक्रियाभन्दा फरक हो ।
कोषका सम्पत्तिहरू विक्री गरेर दायित्व चुक्ता गरिने र बाँकी रकम लगानीकर्तालाई फिर्ता गर्ने प्रयास भइरहेको छ । अनुसन्धानको दायरा फराकिलो बनाउँदै अधिकारीहरूले यस प्रकरणमा संलग्न उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ गरेका छन् । साथै, संदिग्धहरूको सम्पत्ति रोक्का, यात्रा प्रतिबन्ध र शंकास्पद सामाजिक सञ्जाल खाताहरू बन्द गर्ने काम पनि जारी छ ।
बजार विश्लेषकहरूले यस घटनाले विदेशी लगानीकर्ताहरूमा समेत त्रास फैलाएको र टर्कीको अर्थतन्त्रमा अल्पकालीन दबाब सिर्जना गरेको चेतावनी दिएका छन् ।






