काठमाडौँ। पाटन नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा कार्यरत नगर स्वयंसेवक शिक्षकको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले हाल प्राप्त गर्दै आएको पारिश्रमिकमा मासिक ५ हजार रुपैयाँ थप गर्ने निर्णय गरेको हो।
नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष हरिश बिष्टका अनुसार संशोधित पारिश्रमिक आगामी मंसिर महिनादेखि कार्यान्वयनमा आउनेछ।
पारिश्रमिक वृद्धि माग गर्दै यसअघि नगर स्वयंसेवक शिक्षकहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनपछि उनीहरूका माग सम्बोधन गर्ने सहमति बनेको थियो।
नगरपालिकाले सोही सहमतिलाई कार्यान्वयन गर्ने क्रममा पारिश्रमिक बढाउने निर्णय गरेको संयोजक बिष्टले जानकारी दिए। निर्णयसँगै नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयमा कार्यरत नगर स्वयंसेवक शिक्षकले मंसिरदेखि थप ५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्राप्त गर्नेछन्।






