काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी)को सञ्चालक समिति (बोर्ड अफ गभर्नर्स) को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ ७ बजे कतारको राजधानी दोहा प्रस्थान गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा सहसचिव अमृत लम्साल पनि सहभागी छन् ।
एआईआईबीको ११औँ वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउने छन् । सो क्रममा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग र लगानी परिचालनबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय भेटवार्ता सम्पन्न गरी अर्थमन्त्री वाग्ले नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी असोज १४ गते बुधबार कतार एयरवेजको उडानमार्फत स्वदेश फर्किनेछ ।






