काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेन जेडबाट सुरक्षा खतरा’ रहेको भन्दै मध्यरातमा प्रहरी कार्यालय लगिएको घटनामाथि जेन जेड अभियन्ता रक्षा बमले प्रश्न उठाएकी छन्।
बमले सामाजिक सञ्जालमार्फत जबरालाई रातको समयमा प्रहरी कार्यालय लगिएको घटनाको कारण र कानुनी प्रक्रियाबारे प्रश्न गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी हुन्।
उनले ‘जेन जेड’लाई सुरक्षा खतराका रूपमा प्रस्तुत गरिएको विषयमा समेत प्रश्न उठाउँदै जेन जेड कुनै संगठित वा सशस्त्र समूह हो भन्ने प्रमाण सार्वजनिक गर्नुपर्ने आशय व्यक्त गरेकी छन्।
बमले राज्यशक्तिको प्रयोग गर्दा कानुनी विधि र प्रक्रिया पालना हुनुपर्ने बताउँदै सुरक्षा खतराको नाममा व्यक्तिलाई नियन्त्रणमा लिने अभ्यासबारे प्रश्न गरेकी छन्। उनले जबरालाई नियन्त्रणमा लिनुको पछाडि अन्य कुनै उद्देश्य भए त्यसबारे पनि सरकारले स्पष्ट पार्नुपर्ने बताएकी छन्।
यसअघि पूर्वप्रधान न्यायाधीश जबरालाई प्रहरीले शनिबार राति महाराजगञ्जस्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको थियो।
प्रहरी कार्यालयमा राखिएका जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत टेकु पुगेको थियो। तर करिब ४५ मिनेट प्रतीक्षा गर्दा पनि भेट गर्न नदिइएपछि आयोगको टोली फर्किएको जनाएको छ।
आइतबार दिउँसो भने जबरालाई प्रहरीको नियन्त्रणबाट छाडिएको छ। प्रहरीले उनलाई पक्राउ नभई सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गर्दै अब निवासमै सुरक्षा व्यवस्था मिलाइने जनाएको छ।






