काठमाडौँ । आसन्न चाडपर्वका समयमा यात्रुहरू बिचौलियाबाट ठगिने समस्या अन्त्य गर्न र जीर्ण सडक तथा कमजोर ट्राफिक पूर्वाधारका कारण भइरहेका दैनिक दुर्घटना रोक्न सांसदहरूले सरकार तथा मातहतका निकायको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमवार बसेको बैठकमा सत्तारूढ तथा प्रतिपक्षी सांसदहरूले चाडपर्व लक्षित अल्पकालीन योजनामा मात्र सीमित नभई मुलुकको समग्र यातायात क्षेत्रको दिगो व्यवस्थापन गर्न माग गरेका हुन् । बैठकमा बोल्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद मञ्जु भुसालले चाडपर्व नजिकिँदै गर्दा यातायात क्षेत्रमा बिचौलियाहरूको प्रभाव बढ्ने र यात्रुहरूले सास्ती व्यहोर्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरिन् ।
उनले टिकट काट्नु मात्र ठूलो कुरा नभई यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु मुख्य दायित्व भएको स्मरण गराइन् । सांसद भुसालले संसदीय समितिले सात वटै प्रदेशमा यातायात तथा पूर्वाधार अनुगमनका लागि उपसमिति बनाएर काम गरिरहेको जानकारी पनि दिइन् ।
उनले भनिन्, ‘विगतका कमीकमजोरी दोहोरिनु हुँदैन । कृष्णभीर लगायतका सडक खण्डमा सरकारले पहिरो पन्छाउने र मर्मतको काम गरिरहेको भए पनि यातायात व्यवस्था विभाग र व्यवसायीबीच प्रभावकारी समन्वय हुनुपर्छ ।’
रास्वपाकै सांसद सुनिल केसीले राजधानीकै मुख्य सडकहरूमा सामान्य ट्राफिक पूर्वाधार नहुँदा नागरिकले ज्यान गुमाइरहनु परेको भन्दै आक्रोश पोखे । कोटेश्वर चोकमा निर्माण हुने भनिएको आकासे पुल कसको स्वार्थमा रोकियो भन्दै उनले सम्बन्धित मन्त्रालय र विभागसँग जवाफ माग गरे । उनले सडक विभाग र ट्राफिक प्रहरीका अधिकारीहरूलाई प्रश्न गरे । साथै, अव्यवस्थित पार्किङ र सडक सुरक्षामा राज्यका निकायहरूले आफ्नो कमजोरी स्वीकारेर तत्काल समाधान दिनुपर्ने उनको माग छ ।
उनले भने, ‘कोटेश्वर, बालकुमारी, पेप्सीकोला, थली, साँखु लगायतका क्षेत्रमा साधारण ट्राफिक लाइट नहुँदा दैनिक जसो गम्भीर दुर्घटना भइरहेका छन् । काठमाडौँको मुटुमै ट्राफिक लाइट राख्न नसक्ने अनि यहाँ बसेर हावा कुरा गरेर हुन्छ ?’
प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदीय समितिको कार्यशैली र यातायात नीतिको प्राथमिकतामाथि प्रश्न उठाए । बैठकमा पर्याप्त समय नदिई हतारमा छलफल टुङ्ग्याउने प्रवृत्तिको आलोचना गर्दै उनले मौसमी वा चाडपर्व केन्द्रित योजनाले मात्र समस्या हल नहुने बताए ।
उनले भने, ‘हामी हरेक वर्ष चाडपर्व आउँदा मात्र तात्ने गर्छौँ । चाडपर्वमा सवारीको चाप बढ्नु स्वाभाविक हो, तर जबसम्म यातायात प्रणालीको समग्र र दिगो पुनर्संरचना गरिँदैन, तबसम्म यस्ता समस्या दोहोरिरहन्छन् ।’
सांसद शर्माले दीर्घकालीन नीति निर्माणमा समिति र सरकारले गम्भीरता देखाउनुपर्नेमा जोड दिए ।






