काठमाडौँ । झापाको बिर्तामोडमा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका-५ मा डेरामा बस्दै आएकी २२ वर्षीया एक महिलामाथि उक्त घटना भएको हो। इलामको रोङ गाउँपालिका-३ घर भएकी मगरको कोठामा असोज १२ गते राति करिब १०:३० बजे भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए।
रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत लिएर मगरको कोठामा प्रवेश गरेको र तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यसपछि उनले ती महिलालाई आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ। घटनाबारे सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले रायलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी अनुसन्धान अघि बढाएको छ।
घटनामा घाइते महिलाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका राय बिर्तामोड नगरपालिका-५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएको प्रहरीले जनाएको छ। घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



