काठमाडौँ । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निरज शर्मा नियुक्त भएका छन्।
इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो। शर्माले चार वर्षे कार्यकाल सम्हालेका छन्।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव भएका शर्मा ट्रान्ज्याक्सन बैंकिङ, कार्ड प्रणाली, रिटेल बैंकिङ तथा डिजिटल रूपान्तरणका क्षेत्रमा अनुभवी छन्। डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि, ग्राहक केन्द्रित सेवा विकास तथा संस्थागत रूपान्तरणमा समेत उनको अनुभव रहेको कम्पनीले जनाएको छ।
इसेवा सञ्चालक समितिले शर्माको बैंकिङ तथा डिजिटल वित्तीय सेवासम्बन्धी अनुभव र नेतृत्व क्षमताबाट कम्पनीको आगामी रणनीतिक योजना कार्यान्वयन तथा सेवा विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
यसैबीच, इसेवाका निवर्तमान सिइओ जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ। २०७९ असोज १२ गते सिइओ नियुक्त भएका खड्काले आफ्नो कार्यकाल पूरा गरेका हुन्।
खड्काको नेतृत्वमा इसेवाको सेवा, पहुँच तथा डिजिटल वित्तीय कारोबारको दायरा विस्तार भएको कम्पनीले जनाएको छ। उनको कार्यकालमा प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिको संख्या बढ्नुका साथै नयाँ उत्पादन तथा सुविधा विकास, नवप्रवर्तन र डिजिटल सेवा विस्तारमा विभिन्न काम अघि बढाइएको थियो।
कम्पनीका अनुसार खड्काको कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख तथा मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको छ।



