बागलुङ । असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बाढ पहिराले जिल्लामा ६१ घर/गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति भएको छ ।
बागलुङका ५१ घर र १० गोठ बाढीले बगाएको छ । बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । दर खोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालय बगाएको छ । तीन वटा झोलुङ्गे पुल बगाएको र दुई वटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढी पहिरोबाट दुई वटा जलविद्युत्मा आंशिक क्षति, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा क्षति पुगेको छ भने २५६ वटा पशुचौपाय क्षति भएको छ भने २१५ वटा कुखुरा मरेका छन् ।
निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन् । पहिरोमा परी चार वटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ । निसीखोला, तमानखोला, बडिगाड, काठे खोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रशासनले जनाएको छ ।
तमानखोला–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बडिगाड –९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ ।
ढोरपाटन –७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ । तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
यस्तै गलकोट –१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटेल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ । काठे खोला – १, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको छ । बाढी पहिरोमा मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन् । तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले जानकारी दिए ।
बाढीपीडितलाई गाउँपालिकाको राहत
बागलुङको निसीखोला गाउँपालिकाले विपदबाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ । गाउँपालिकाभित्र मानवीय तथा भौतिक क्षति पुर्याएपछि गाउँपालिकाले तत्कालै नगद तथा खाद्यान्न राहत उपलब्ध गराएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए ।
गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराएको हो । गाउँपालिकाका अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति रु. ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई रु. ३० हजार र जोखिममा रहेका परिवारलाई रु. १० हजारका दरले राहत उपलब्ध गराइएको छ ।
पाँच जना मृतकको परिवारलाई रु. ५० हजारका नगद राहत उपलब्ध गराइएको थियो भने घरमा क्षति भएका २४ परिवारलाई रु. ३० हजारका दरले र घरमा आंशिक क्षति भएका २१ परिवारलाई रु १० हजारका दरले सहयोग प्रदान गरिएको छ । निसीखोलामा बाढी तथा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घरमा पूर्ण क्षति भएको छ भने २१ जनाको घर उच्च जोखिममा रहेको छ । साथै चामल तथा त्रिपालसमेत प्रदान गरिएको छ ।



