काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उनी आज बिहान स्वदेश फर्किएका हुन् । उनी महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।
भ्रमणका दौरान मन्त्री खनालले नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्म: जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न मुलुकका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गरी आपसी हितका विविध विषयमा छलफलसमेत गरेका थिए ।
सक्रिय सहभागिता, भेटवार्ता र छलफलले उनको भ्रमण अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि गर्न निकै फलदायी भएको बताइएको छ ।



