काठमाडौँ । स्पेसएक्सको स्टारशिप अन्तरिक्ष यानले पहिलो पटक पृथ्वीको कक्षमा सफलतापूर्वक प्रवेश गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । टेक्सासको स्टारबेसबाट उडान भरेको यानले आफ्नो १४ औँ परीक्षणका क्रममा २६ वटा अर्को पुस्ताका ‘स्टारलिंक भी३’ उपग्रहहरूलाई कक्षमा पुर्याएको छ ।
उडानका क्रममा यानको इन्जिनमा केही समस्या देखिएपछि कम्पनीले सुरक्षाका लागि मिसनलाई योजनाभन्दा छिटो समापन गर्ने निर्णय गरेको थियो । स्थानीय समयअनुसार बिहान ७:४८ बजे उडान भरेको स्टारशिपको सुपर हेभी बूस्टरले सात मिनेटपछि मेक्सिकोको खाडीमा सुरक्षित अवतरण गरेको थियो ।
यानको मुख्य भागले कक्षीय यात्रा शुरु गर्ने क्रममा ‘र्याप्टर’ इन्जिनमध्ये एउटामा समस्या देखिएपछि उडानको गतिमा केही अवरोध आएको थियो । यद्यपि, स्पेसएक्सको फ्लाइट कन्ट्रोल टिमले परिस्थितिको विश्लेषण गर्दै मिसनलाई निरन्तरता दिने निर्णय गरेको थियो । मिसनको मुख्य लक्ष्यका रूपमा रहेका २६ वटा स्टारलिंक भी३ उपग्रहहरूलाई कक्षमा छाडिएको छ । स्पेसएक्सकाअनुसार यी उपग्रहहरूसँग लेजर लिंक र ग्राउन्ड स्टेसनमार्फत सम्पर्क स्थापित भइसकेको छ । प्रारम्भिक जाँचपछि यी उपग्रहहरूले सेवा शुरु गर्नेछन् ।
इन्जिनको समस्यालाई मध्यनजर गर्दै, थप जोखिम नलिने उद्देश्यले यानलाई निर्धारित समयभन्दा छिटो ‘डि–अर्बिट’ गरी प्रशान्त महासागरमा अवतरण गराइएको थियो । स्पेसएक्सका संस्थापक एलन मस्कले यो उडानलाई ‘सफल’ भनी टिप्पणी गरेका छन् ।
स्टारशिपलाई भविष्यमा मानवसहितको चन्द्रमा र मंगल ग्रहको यात्राका लागि पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने प्रणालीको रूपमा विकास गरिएको हो ।
नासाको आर्टेमिस कार्यक्रम अन्तर्गत चन्द्रमामा अन्तरिक्ष यात्री लैजानका लागि पनि स्टारशिपको छुट्टै संस्करणमा काम भइरहेको छ । १३ पटकको सब–अर्बिटल परीक्षणपछि यो पहिलो पटक कक्षीय उडान सफल भएको हो ।



