काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन तथा गैरआवासीय नेपाली (एनआरएन) फण्ड भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भइसकेको बताएकी छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले अक्सन मार्केट सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सम्बन्धित निकायसँग समन्वय भइरहेको र सीडीएससीले सेटलमेन्टको काम गर्ने र अक्सन मार्केट सञ्चालनको जिम्मेवारी नेप्सेले लिने गरी प्रक्रिया अघि बढाइएको बताएमा हुन्। उनका अनुसार छिट्टै रिजल्ट देखिने गरी कमा भइरहेको छ । त्यस्तै, एनआरएन फण्ड नेपाल भित्र्याउने विषयमा पनि सीडीएससी र नेप्सेले आवश्यक सबै तयारी तथा कार्ययोजना तयार गरिसकेको उनले जानकारी दिइन् । अब त्यसको परिणाम आउन मात्र बाँकी रहेको उहाँको भनाइ छ । सापकोटाले लगानीकर्तालाई थप प्रभावकारी सेवा दिन सीडीएससीले प्रविधि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनका अनुसार करिब ८० लाख लगानीकर्ताको होल्डिङ व्यवस्थापन गर्ने डिपोजिटरी भएकाले सीडीएससी प्राविधिक रूपमा बलियो र सक्षम हुनुपर्ने आवश्यकता छ ।
प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने-‘अक्शन मार्केटका सम्बन्धमा पनि हामी छिट्टै यसको नतिजा ल्याउने चरणमा छौँ । हामी सेटलमेन्ट गर्छौँ भने नेप्सेले अक्सन मार्केट सञ्चालन गर्ने हो । यस विषयमा बोर्डसँग हाम्रो समन्वय भइरहेको छ । त्यसैले यसको पनि छिट्टै नै नतिजा आउनेछ भन्ने अपेक्षा गरेका छौँ । त्यसैगरी, गैरआवासीय नेपाली एनआरएनको लगानी भित्र्याउने विषयमा पनि हामीले एक तहसम्मको गृहकार्य गरिसकेका छौँ । अहिले एनआरएन फन्ड भित्र्याउने विषयमा सीडीएससी र नेप्सेले आवश्यक सबै तयारी तथा कार्ययोजना तयार गरिसकेका छन् । यसमा अब नतिजा आउन मात्र बाँकी हो । यससँगसँगै, सीडीएससीले लगानीकर्तालाई प्रविधिमार्फत अझ राम्रो सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा पनि निरन्तर काम गरिरहेको छ । हामीले जुनसुकै क्षेत्रमा पनि लगानीकर्तालाई अझ प्रभावकारी र गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ । तर यसमा एउटा महत्त्वपूर्ण कुरा सबैले बुझ्न आवश्यक छ, जुन मैले अघि पनि भनेँ-करिब ८० लाख लगानीकर्ताको धितोपत्र स्वामित्वको अभिलेख तथा होल्डिङ व्यवस्थापन गरिरहेको निक्षेप सदस्य तथा निक्षेप प्रणालीका रूपमा सीडीएससी प्राविधिक रूपमा अत्यन्त सक्षम र सबल हुनुपर्छ । हामीले पूर्वाधारको क्षेत्रमा कुनै पनि किसिमको कमजोरी राख्ने अवस्था छैन । यस विषयलाई प्राविधिक रूपमा कमजोर बनाएर वा सामान्य रूपमा लिएर अघि बढ्ने ठाउँ हामीसँग छैन । त्यसैले पूर्वाधारमा आवश्यक पर्ने लगानीदेखि लिएर अन्य सम्पूर्ण पक्षमा सीडीएससी प्राविधिक रूपमा सक्षम र सबल हुनुपर्छ । म सबैलाई के भन्न चाहन्छु भने, कुनै पनि विषयमा सम्झौता नगरी अगाडि बढौँ । विशेष गरी पूर्वाधारको सवालमा सीडीएससी क्षमताका हिसाबले उत्कृष्ट हुनुपर्छ । किनभने सम्पूर्ण लगानीकर्ताको धितोपत्र होल्डिङ तथा त्यससम्बन्धी अभिलेख हामीसँग छ । त्यसैले यो जिम्मेवारीलाई हामीले अत्यन्त गम्भीरताका साथ लिनुपर्छ । यसै कुरालाई ध्यानमा राख्दै, हाम्रो तर्फबाट गर्न सकिने र गर्नुपर्ने सबै काम हामी पूर्ण रूपमा गर्नेछौँ ।’
उनले सीडीएससीको तर्फबाट लगानीकर्तालाई सेवा प्रवाह थप प्रभावकारी बनाउन आवश्यक सबै काम अघि बढाइने बताइन् । सीडीएससीको पूर्वाधार विकासमा कुनै पनि प्रकारको सम्झौता गर्न नहुनेमा जोड दिँदै सापकोटाले संस्थाको क्षमता र आवश्यकताअनुसार उत्कृष्ट पूर्वाधार निर्माण गर्नुपर्ने र त्यसका लागि आवश्यक बजेटदेखि अन्य स्रोतसाधनको व्यवस्थापनमा समेत ध्यान दिइने उनको भनाइ छ ।



