काठमाडौँ । विद्युत् नियमन आयोगले राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारणसम्बन्धी विषयमा सरोकारवालासँग छलफल गर्ने भएको छ।
आयोगले २०८३ असार २ गते बसेको ३९०औँ बैठकबाट स्वीकृत राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण दस्तुर गणना सम्बन्धी मापदण्ड, २०८३ का आधारमा प्रसारण शुल्क निर्धारणसम्बन्धी विषयमा छलफल गर्न लागेको हो।
आयोगका अनुसार उक्त मापदण्डका आधारमा आयोगबाट निर्धारण गरिएको विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच निर्देशिकाको दफा ३३ बमोजिम प्रसारण शुल्कसम्बन्धी सार्वजनिक सुनुवाइ तथा छलफल कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठको प्रमुख आतिथ्य रहने आयोगले जनाएको छ।
सरोकारवालालाई कार्यक्रममा उपस्थितिका लागि आयोगले अनुरोध गरेको छ।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम २०८३ असोज १५ गते दिउँसो ३ बजे विद्युत् नियमन आयोग, सानो गौचरणस्थित सभा हलमा हुनेछ।
प्रसारण शुल्क निर्धारणका लागि स्वीकृत मापदण्ड र त्यसका आधारमा तय हुने शुल्कसम्बन्धी विषयमा सरोकारवालाको धारणा बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।




