काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले पूर्वप्रतिनिधि सभा सदस्य घनेन्द्र बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
लोकतान्त्रिक आन्दोलनका अगुवा बस्नेतको ७४ वर्षको उमेरमा असोज १४ गते असामयिक निधन भएको थियो ।
प्रतिनिधि सभाको बैठकमा प्रस्तुत शोक प्रस्तावमा बस्नेतले प्रजातन्त्र र लोकतन्त्रको स्थापनाका लागि निर्वाह गरेको अग्रणी भूमिकाको उच्च कदर गरिएको छ ।
नेकपा (एमाले) को तर्फबाट राजनीतिमा सक्रिय बस्नेतले संसदीय अभ्यासमा महत्वपूर्ण योगदान पुर्याएका थिए । स्वर्गीय बस्नेत विक्रम संवत् २०४८ सालको आम निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नम्बर २ र २०५६ सालको निर्वाचनमा भोजपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
शोक प्रस्ताव पारित भएपश्चात् सदनले स्वर्गीय बस्नेतको सम्मानमा एक मिनेट मौन धारण गरेको छ । बैठकले दिवंगत बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।



