काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
उनले सरकारले पूर्वप्रधान न्यायाधीश पक्राउ गर्नुको कारण र जवाफ दिन नसकेर सरकारलाई लाज छोप्न समेत गाह्रो भइरहेको टिप्पणी गरिन् । सांसद झाँक्रीले कार्यकारी प्रमुखमा हुने शक्तिको दुरुपयोग गरी न्यायपालिका र व्यवस्थापिकामाथि अप्रत्यक्ष प्रहार भइरहेकोप्रति आपत्ति जनाइन् ।
उनले भनिन्, ‘फाँसीज्म वा तानाशाही व्यवस्था कसरी आउँछ भनेर दुनियामा धेरै किताबहरू लेखिएको रहेछ । हामी अहिले यस्तै अभ्यास गर्न अभिसप्त हो कि जस्तो पनि देखिन्छ । अस्ति मात्रै पूर्वप्रधानन्यायाधीश चालेन्द्र शम्शेर ल जबरा गिरफ्तारीमा पर्नुभयो । सरकारसँग जवाफ छैन, उसलाई लाज छोप्न पनि गाह्रो भइरहेको छ । के कारणले गिरफ्तार गरिएको हो । न कुनै आधार, प्रमाण, कारण केही पनि छैन । देशको कार्यकारी प्रमुखमा असीमित पावर छ भन्ने बुझेर न्यायालय र व्यवस्थापिका दुईटै अंगमाथि अप्रत्यक्ष प्रहारको तरिका हो कि रु सम्माननीय अध्यक्षमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई कठघरामा उभ्याएर प्रश्न सोध्नुपर्छ ।’
जबरा पक्राउ प्रकरणमा सरकारलाई कठघरामा उभ्याएर जवाफ माग्नुपर्ने उनको भनाइ छ ।



