काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौँका सर्वेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले श्रेष्ठको सेवा प्रवेशदेखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी आम्दानी तथा खर्चको अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा श्रेष्ठ तथा उनको एकाघर परिवारको कुल वैधानिक आय ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ ८७ पैसा रहेको देखिएको आयोगले जनाएको छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर तथा सवारी साधन खरिद, अध्ययन खर्च, ऋण तथा सापटीलगायत खर्च र लगानी गरी १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगको दाबी छ।
वैधानिक आम्दानीको तुलनामा खर्च तथा लगानी बढी देखिएपछि ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ।
आयोगका अनुसार श्रेष्ठले सार्वजनिक पदमा रहँदा आर्जन गरेको सम्पत्तिको विवरणसमेत अमिल्दो तथा अस्वाभाविक देखिएको छ। स्रोत नखुलेको सम्पत्ति श्रीमती कमला श्रेष्ठको नाममा समेत रहेको अनुसन्धानबाट देखिएको आयोगको भनाइ छ।
आयोगले श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ।
त्यस्तै, वास्तविक सम्पत्तिभन्दा बढाई तथा रहेको सम्पत्ति लुकाई-छिपाई झुट्टा विवरण दिएको आरोपमा समेत छुट्टै कसुर कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ।
श्रेष्ठकी श्रीमती कमला श्रेष्ठलाई भने स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगले स्पष्ट पारेको छ।
आयोगले श्रेष्ठ र उनकी श्रीमती कमलाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।



