काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका अभिव्यक्ति र गतिविधिले मुलुक स्वेच्छाचारितातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका छन्।
उनले लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै तिनको संरक्षणका लागि मिलेर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली काँग्रेसको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।
‘देश अप्ठेरोमा छ । लोकतन्त्र नै अप्ठेरोमा छ । संविधान पनि अप्ठेरोमा छ,’ उनले भनेका छन्। सरकारका विभिन्न अभिव्यक्ति र क्रियाकलापले स्वेच्छाचारिताको जोखिम बढाएको उनको आरोप छ।
शान्ति प्रक्रियाका बाँकी विषय टुङ्ग्याउन जोड
प्रचण्डले समावेशी लोकतन्त्रसहितको संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले यो व्यवस्था शान्ति सम्झौतासँग पनि जोडिएको उल्लेख गरेका छन्।
‘अझै केही चिज टुंग्याउन बाँकी छ । त्यो टुंग्याइएन भने देश अझै अप्ठेरो अवस्थामा जान सक्छ,’ उनले भनेका छन्। उनले सम्बोधनमा बाँकी विषय टुङ्ग्याउँदै लोकतान्त्रिक व्यवस्था बलियो बनाउन साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।



