काठमाडौँ । झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपसम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित मणिसंगम माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहाविरुद्ध अख्तियारले दायर गरेको मुद्दा विशेष अदालतले खारेज गरेको थियो।
उक्त फैसलामा चित्त नबुझेपछि आयोगले असोज २० गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो।
झुट्टा प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोप
अख्तियारले खन्गाहाले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर दाबी गर्दै सोही व्यवस्थाअनुसार सजाय माग गरी विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले गत असार २४ गते अख्तियारको आरोप पत्र खारेज हुने फैसला गरेको थियो।
विशेषको फैसलामा चित्त नबुझेपछि पुनरावेदन
विशेष अदालतको फैसलाप्रति असहमति जनाउँदै आयोगले मुद्दालाई सर्वोच्च अदालतमा पुर्याएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि पुनरावेदनको निवेदन दर्ता गरिएको हो।



