काठमाडौँ । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ घर भई विक्की कुमार महतो रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार महतोलाई असोज २१ गते साँझ ५ बजे काठमाडौँ महानगरपालिका–११ मातातीर्थस्थित सडक खण्डबाट पक्राउ गरिएको हो।
शंकास्पद अवस्थामा हिँडिरहेका महतोलाई नियन्त्रणमा लिएर उनको मोबाइल फोन जाँच गर्दा वानएक्सबेट र मोबक्यास एप्लिकेसनमार्फत अनलाइन जुवा तथा सट्टेबाजी गरेको भेटिएको प्रहरीले जनाएको छ।
त्यस्तै, यूएसडीटी लगायतका अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा समेत उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको खुलेको छ।
प्रहरीले महतोलाई मोबाइल फोन एक थानसहित नियन्त्रणमा लिएर अभौतिक मुद्रा तथा सट्टेबाजी गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।



