पर्वत । सरकारले बाढीपहिरोबाट प्रभावित पर्वतका पाँच स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
राजपत्रमा बिहीबार प्रकाशन भएको सूचनाअनुसार तीन महिनाका लागि जलजला गाउँपालिकालाई पूर्ण रूपमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
यसैगरी, फलेवास नगरपालिकाका वडा नं २, ३, ७, ८, १० र ११ लाई संकटग्रस्त क्षेत्र तोकिएको छ । विहादी गाउँपालिकाको वडा नं ६ शालिग्राम, महाशिला गाउँपालिकाका वडा नं ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नं २ र ३ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
यही असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी र अतिभारी वर्षाका कारण बाढी तथा पहिरोबाट यी क्षेत्र अति प्रभावित भएका हुन् । यी क्षेत्रमा संकट व्यवस्थापन, राहत वितरण, पुन:स्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने व्यवस्था राजपत्रमा गरिएको छ । बाढीबाट ३०० घरपरिवार पूर्ण रूपमा विस्थापित बनेका छन् ।
निजी घरबाहेक विद्यालय, कृषि फार्म, स्वास्थ्य चौकी, मन्दिर र वडा कार्यालय पनि जोखिममा परेका छन् । यसैगरी कृषि, पशुपालन, सिँचाइ, खानेपानी, सडकलगायत क्षेत्रमा व्यापक क्षति भएको छ ।
यसैगरी, बागलुङका निसिखोला, बडिगाड, तमानखोला र ताराखोला गाउँपालिका, नवरपरासीको सुस्ता गाउँपालिका, गोरखाको शहिल लखन गाउँपालिका वडा नं ३ र ४, मनाङका चामे, नाँसो र मनाङ डिस्याङ गाउँपालिका तथा म्याग्दीका छ वटै गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।



