काठमाडौँ । बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६:४० बजे जारी गरेको एसएमएस सूचनाअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको छ।
बाढीको बहाव सुरक्षित रूपमा पास नभएसम्म त्रिशूली दोभानसम्म नदी किनार तथा आसपासका क्षेत्रमा नजान महाशाखाले आग्रह गरेको छ। साथै, सम्भावित जोखिमबाट बच्न उच्च र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।
सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा जाने, बाढी हेर्न जाने तथा जोखिमयुक्त स्थानमा बस्ने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।



