काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो भौतिक क्षति पुर्याएको छ ।
बाढीले घर, झोलुङ्गे पुल र जलविद्युत आयोजनाका संरचना बगाउनुका साथै तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै तनहुँ, मुग्लिन र चितवनसम्म सतर्कता अपनाउन आग्रह गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले बताए। उनकाअनुसार हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन भने नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको छ ।
हिमपहिरोका कारण शुरु भएको बाढीले आरुघाटस्थित धादिङ जोड्ने पुल र टाइम्स इनर्जीको क्याम्प बगाएको छ भने तल्लो तटीय क्षेत्रका दर्जनौँ घर उच्च जोखिममा परेका छन् ।
हालसम्म मानवीय क्षति नभए पनि नेपाली सेनाले हेलिकप्टरमार्फत ६ जनालाई सकुशल उद्धार गरेको छ । प्राधिकरणकारअनुसार चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङ क्षेत्रमा हिमपहिरो खसेपछि बाढीको मात्रा बढेको हो। नदीको बहाव खतराको तहभन्दा निकै माथि पुगेपछि आरुघाटको जल मापन केन्द्रले काम गर्न छोडेको छ ।
बाढीले सिर्दीबासमा कच्ची घर बगाएको छ भने माछीखोलामा २० देखि २२ घर उच्च जोखिममा छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । उप्रेतीकाअनुसार चितवन र नवलपरासी पूर्वसम्मै सतर्कता अपनाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।
उनले भने, ‘बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखा, धादिङलगायतका क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। प्रारम्भिक जानकारीअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पा क्षेत्रबाट हिमपहिरो खसेर बाढी शुरु भएको आशंका गरिएको छ । नदी ठाउँठाउँमा थुनिँदै र खुल्दै गर्दा बाढीको आकार बढेर आरुघाटमा खतरा तहभन्दा निकै माथि पुगेको छ । बाढीले आरुघाटस्थित धादिङ जोड्ने पुल, विभिन्न झोलुङ्गे पुल र केही घर बगाएको छ । सिर्दीबासमा एउटा कच्ची घर बगाएको, अर्को घरमा बाढी पसेको तथा माछीखोला क्षेत्रमा ५–७ घरमा बाढी पसेको र २०–२२ घर जोखिममा रहेको प्रारम्भिक जानकारी छ । साहस ऊर्जा तथा टाइम्स इनर्जीका संरचनामा पनि क्षति पुगेको खबर आएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी उद्धार तथा राहत कार्य अघि बढाइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको जानकारी दिइएको छ । बाढीको प्रभाव चितवन र नवलपरासी पूर्वसम्म पर्न सक्ने भएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई सतर्क रहन सूचना जारी गरिएको छ । हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन। सम्भावित मानवीय क्षति रोक्न जोखिमयुक्त बस्ती खाली गराउने, नागरिकलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक परे हेलिकप्टरमार्फत उद्धार गर्ने कार्य जारी छ । सर्वसाधारणलाई नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।’
हालसम्म मानवीय क्षति नभएको भए पनि भौतिक क्षतिले गोर्खा, धादिङ, तनहुँ र चितवनसम्म प्रभाव पारेको छ । उद्धार टोलीले निरन्तर रेकी गरिरहेको र बाँकी फसेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । प्राधिकरणले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीको सूचना पाउनासाथ सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ ।



