काठमाडौँ । आइतबार बिहान सिरिंगे हिमालमा गएको हिम पहिरोले उइन्गुलुङ खोला थुनिएर गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछि खोजी, उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकार तदारुकताका साथ लागिरहेको छ।
प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ। ५ जना स्थानीय सम्पर्कविहीन रहेकाले सुरक्षाकर्मीहरूले खोजी कार्य जारी राखेका छन् । बाढीपछि अहिलेसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा ७०३ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
आरुघाट जलमापन केन्द्रमा नदीको सतह खतराको तह -५ मिटर) नाघेर ८.४३ मिटरसम्म पुगेको थियो। बाढीको सम्भावित जोखिमबाट सुरक्षित राख्न करिब २ लाख नागरिकलाई पूर्व सूचना पठाउनुका साथै प्राधिकरणको कमान्ड पोस्टले तत्काल बैठक बसी अवस्थाको निरन्तर अनुगमन र उद्धार परिचालन सुरु गरेको थियो।
बाढीले धादिङ र गोरखाका २०० भन्दा धेरै घरमा क्षति पुगेका साथै डेढ सय जति चौरीगाई तथा भेडा बाख्रा बगाएको छ। खानेपानी, निर्माणाधीन जलविद्युत्, विद्यालयलगायतका संरचनासहित मनास्लु पदमार्ग र गोरखा–धादिङ जोड्ने मुख्य सडकका ३ पक्की पुल र २ झोलुंग पुलमा क्षति पुर्याएको छ।
विपद्पछिको प्रतिकार्य तथा पुनर्निर्माणमा पनि सरकार निरन्तर लागिरहेको छ। आज मात्रै काठमाडौँबाट हवाई साधनमार्फत गोरखाको फिलिममा ४ हजार २७० केजी खाद्यान्न र १ हजार ९०० लिटर हवाई इन्धन ढुवानी गरी आपत्कालीन राहत वितरण अघि बढाइएको छ।
अहिले आरुघाट–सल्यानटार जोड्ने पुल पुनः सञ्चालन गर्न हेटौँडाबाट बेल ब्रिजका सामग्री ल्याएर निर्माण कार्य तीव्र पारिएको छ भने छेपारे भीरमा एक्स्काभेटर परिचालन गरी दोभान–सल्लेरी सडक खुलाउने प्रयास भइरहेको छ। सरकारले दसैँअघि नै सम्पूर्ण अवरुद्ध सडकहरू सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।



