काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालय संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण र नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।
चीनमा आयोजित ‘लेजिस्लेटर्स फोरम फर फ्रेन्ड्ली एक्सचेन्जेस–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै पराजुलीले जलवायु संकटको सामना र दिगो आर्थिक विकासका लागि शिक्षा, उद्योग तथा प्रविधिबीच समन्वय हुनुपर्नेमा जोड दिएका हुन्।
चिनियाँ जनताको वैदेशिक मैत्री संघ (सीपीएएफएफसी) द्वारा ‘दिगो भविष्यका लागि गुणात्मक वृद्धिमा साझेदारी’ भन्ने नारासहित आयोजित फोरममा ५२ देशका सभामुख, उपसभामुख, मन्त्री तथा सांसदसहित ६६ जनाभन्दा बढी कानुन निर्माताको सहभागिता रहेको बताइएको छ।
फोरममा ‘उद्योग, शिक्षा र नयाँ गुणात्मक उत्पादक शक्ति’ विषयमा नेपालको धारणा प्रस्तुत गर्दै पराजुलीले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापतिसमेत रहेका पराजुलीले हिमनदी पग्लिने क्रम, बाढी र पहिरोजस्ता विपद्को प्रभाव राष्ट्रिय सीमाभित्र मात्र सीमित नहुने बताए।
उनले हिमालय संरक्षणसँगै प्रभावकारी विपद् पूर्वसूचना प्रणालीको विकास र जलवायु उत्थानशीलता अभिवृद्धिका लागि विश्वव्यापी ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरे।
नेपालको आर्थिक रूपान्तरणका लागि शिक्षा र उद्योगबीचको खाडल कम गर्नुपर्नेमा जोड दिँदै पराजुलीले व्यावहारिक सीप, अनुसन्धान, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने बताए। शैक्षिक संस्थालाई उद्योगको आवश्यकतासँग जोडेर युवाका लागि स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ थियो।
नेपाली हस्तकला, कृषि उत्पादन र जडीबुटीलाई आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके निर्यात प्रवर्द्धनसँगै मुलुकको आर्थिक विकासमा योगदान पुग्ने उनले बताए।
नेपाल–चीन सहकार्यका सम्भावनाबारे चर्चा गर्दै पराजुलीले सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डिजिटल सीप, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा साझेदारी विस्तार गर्नुपर्ने धारणा राखे।
चीनको औद्योगिक तथा प्राविधिक अनुभवलाई नेपालको युवा जनशक्ति र उद्यमशीलतासँग जोड्न सके रोजगारी सिर्जना र दिगो आर्थिक विकासका नयाँ अवसर खुल्ने उनको विश्वास छ।
नेपाल र चीनबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई शिक्षा, प्रविधि, लगानी तथा जनशक्ति विकासमा केन्द्रित परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा समेत उनले जोड दिए। पराजुलीको सचिवालयका अनुसार उनी फोरममा सहभागिता जनाएर बिहीबार स्वदेश फर्कने कार्यक्रम छ।




