काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आन्तरिक एकतालाई सुदृढ गर्दै नयाँ सोच, नीति र कार्यशैलीका साथ पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै पार्टीमा नीतिगत तथा सांगठनिक रूपान्तरणको अपेक्षा बढेको उनीहरूको भनाइ छ । नेताहरूले युवा पुस्ताको भावना सम्बोधन, संगठन सुदृढीकरण, आन्तरिक असन्तुष्टिको व्यवस्थापन र प्रभावकारी प्रतिपक्षको भूमिकालाई नयाँ नेतृत्वले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
काँग्रेस केन्द्रीय सदस्य खड्गबहादुर शाहीले पार्टीप्रति जनताको आशा र भरोसा कायमै रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा काँग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले नयाँ नेतृत्वले युवा पुस्ताको भावना, राजनीतिक चेतना र पछिल्लो समय युवाहरूले उठाएका प्रश्नलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
पार्टीको विधान, नीति र कार्यदिशामा समयानुकूल परिवर्तन गर्दै देश र जनताको आवश्यकताअनुसार शासन सञ्चालन गर्ने दृष्टिकोणका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ । शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन काँग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
चाडपर्वका बेला हवाई तथा सडक यातायातको भाडा र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण मारमा परेको उल्लेख गर्दै उनले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। सरकारले जनताका समस्या बेवास्ता गरे काँग्रेसले सडकदेखि सदनसम्म आवाज उठाउने उनको भनाइ छ।
काँग्रेस केन्द्रीय सदस्य इर्शाद अन्सारीले युवाहरूको भावना र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताए। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थितिमा आएको परिवर्तनलाई काँग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । उनले मधेसका मुस्लिम समुदायलगायत विभिन्न समुदायका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । काँग्रेसलाई गाउँगाउँसम्म सशक्त संगठनका रूपमा विस्तार गर्दै पार्टीका विचार र कार्यक्रम जनतामाझ पुर्याउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, काँग्रेस नेता लेखनाथ पोखरेलले नयाँ नेतृत्वले सरकारका सकारात्मक काममा रचनात्मक सहयोग र गलत कार्यको आलोचना गर्दै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गरी राजनीतिक तथा निर्वाचनसम्बन्धी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टीभित्र गुट–उपगुटभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्ने उनको भनाइ छ।
काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जनसरोकारका विषयलाई पार्टीको नीति तथा कार्यक्रमको केन्द्रमा राख्नुपर्ने बताए । जलवायु परिवर्तनलगायतका विषयलाई प्राथमिकता दिँदै नागरिकका दैनिक समस्या सम्बोधन गर्ने कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव छ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा काँग्रेसलाई लोकप्रिय र ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
काँग्रेस नेतृ सरस्वती अर्याल तिवारीले आगामी स्थानीय निर्वाचनअघि पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्दै फरक धारमा रहेका नेताहरूलाई समेत समेटेर संगठनलाई एकताबद्ध बनाउनुपर्ने बताइन्। देशभर साझा उद्देश्य र सन्देशका साथ पार्टी परिचालन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।
त्यसैगरी, काँग्रेस नेतृ सनम बेगमले नयाँ र पुरानो पुस्ताबीच सहकार्य गर्दै पार्टीलाई अघि बढाउनुपर्ने बताइन् । आन्तरिक प्रतिस्पर्धामा अल्झिनुभन्दा अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न सक्ने गरी संगठनलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिइन् ।
काँग्रेसका युवा नेता समुद्र पोखरेलले वडा तहदेखि नै युवाहरूलाई नेतृत्वमा आउने अवसर प्रदान गरिनु सकारात्मक भएको बताए । उनले युवा रोजगारी र युवाका सरोकारका विषयलाई पार्टीले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी कार्यालयमा जारी छ । अधिकांश पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ भने समावेशीतर्फका केही सहमहामन्त्री तथा विभिन्न समूह र खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम नतिजा आउन बाँकी छ ।



