३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

अ अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँ तिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उनीलाई चाडपर्वको खुसीबाट टाढा बनाएको हो ।

यस वर्षको मनसुनजन्य विपद्ले दिलमतीको परिवारको सहारा र आश्रय दुवै खोसेको छ । श्रीमान् ७० वर्षीय लालवीर छन्त्याललाई पहिरोले सुतिरहेकै ठाउँमा पुरेर ज्यान लियो । श्रीमान् गुमाएको शोकमाथि घरगोठ, पशुचौपाया र खेतीपाती गर्ने जमिनसमेत गुमाउनुपर्दा दिलमतीको जीवनमा बज्रपात परेको छ । शरीरमा लागेको घाउ निको हुँदै गए पनि मनमा परेको चोट भने अझै ताजै छ ।

‘दुःख परेको समयमा चाडपर्व पनि नआए हुन्थ्यो जस्तो लाग्नेरहेछ’, दिलमतीले भनिन्, ‘जीवनको सहारा श्रीमानसँगै बस्ने बास पनि खोस्यो । चारवटा भैँसी र पाडासहितको गोठ बगायो । खेतीबाली लगाउने जमिन उराठलाग्दो बगर बनेको देख्दा मन थाम्नै गाह्रो हुँदोरहेछ ।’

हजुरबुबाको मायाबाट वञ्चित बालक
दिलमती र लालवीरले आफ्नो परिवारको दु:खबीच सात वर्षीय नाति दर्पण छन्त्यालको लालनपालन र अभिभावकत्वको जिम्मेवारी सम्हाल्दै आएका थिए । दर्पणका आमा र बुबाले दोस्रो विवाह गरेपछि हजुरबुबा लालबीर, हजुरआमा दिलमती र काकी गौमायाले उनलाई हुर्काउँदै आएका थिए ।

पहिरो खसेको थाहा पाएपछि नाति दर्पणलाई झ्यालबाट बाहिर निकाल्ने क्रममा दिलमती घाइते भएकी थिइन् । उनी नातिको ज्यान जोगाउन सफल भए पनि आफ्नै जीवनको सहारा बनेका श्रीमान्लाई भने बचाउन नसकेकामा दु:खी छिन् ।

माया र स्नेह दिने हजुरबुबाको निधनले दर्पणको बालमनमा गहिरो चोट परेको छ । परिवारका सदस्य गुमाउनुको पीडासँगै घरबारविहीन अवस्थाले उनीहरूको दसैँतिहार खल्लो बनेको छ । विगतमा परिवारसँगै बसेर मनाइने चाडपर्व यस वर्ष उनीहरूका लागि दु:खद् सम्झना र अभावको समय बनेको छ ।

दुई महिनाको अन्तरमा दोहोरियो विपद्
चिनाखेतका बासिन्दाले यस वर्ष दुई महिनाको अन्तरमा दुईपटक बाढीपहिरोको सामना गर्नुपरेको छ । गत साउन ११ गते र असोज ११ गते आएको बाढीले बस्ती र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएपछि यहाँका बासिन्दा सुरक्षित बसोबासको चिन्तामा परेका छन् ।

चिनाखेतकी स्थानीय शिक्षक चमेली थापाका अनुसार बाढीपहिरोले बस्तीमा क्षति पुर्‍याएपछि दसैँ तिहारको माहोल नै हराएको छ । विपद्को जोखिम बढ्दै जाँदा स्थानीय बासिन्दा आफ्नो थातथलो छाडेर अन्यत्र बसाइँ सर्ने क्रमसमेत बढेको उनले बताइन् ।

‘पहिरोले उठिबास लगाएकाले चाडपर्वको माहोल नै हराएको छ,’ उनले भनिन्, ‘दुई महिनाको अन्तरमा लगातार पहिरो आएपछि चिनाखेतवासी थातथलो छाडेर बसाइँ सर्ने क्रम बढेको छ ।’

बस्तीमाथिको पाखोमा सक्रिय रहेको पहिरो खोल्सामा मिसिँदा गेगरसहितको बाढी बस्ती र खेतबारीतर्फ पस्ने गरेको छ । पहिरो र बाढीको जोखिम बढेकाले स्थानीयवासीलाई घरमा बस्न र खेतीपाती गर्नसमेत कठिन भएको छ ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार साउन ११ गतेको पहिरोले लालवीर छन्त्यालको घरगोठ पूर्ण रूपमा क्षति गरेको थियो । असोज ११ गतेको बाढीले मोती पुन र लोकबहादुर पुनको घर बस्नै नमिल्ने बनाएको छ ।

एक सय ५० रोपनी जमिन बगरमा परिणत
चिनाखेतमा बाढीपहिरोबाट ४२ घरपरिवार प्रभावित भएका छन् । वडाध्यक्ष पुनका अनुसार करिब १५० रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचा, कृषि फार्म, धान खेतसहितको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

चिनाखेतका बासिन्दाले पछिल्लो समय व्यावसायिक सुन्तला तथा तरकारी खेती विस्तार गर्दै आएका थिए । गाउँमै कृषि व्यवसाय गरेर आत्मनिर्भर बन्ने र रोजगारी सृजना गर्ने स्थानीयको प्रयासलाई बाढीपहिरोले गम्भीर धक्का पुर्‍याएको छ ।

स्थानीय भवी छन्त्यालले फल दिने बेला भएका करिब १०० सुन्तलाका बोट रहेको आफ्नो बगैँचा पहिरोले पुरिएर बगर बनेको बताए । वर्षौँको मिहिनेत र लगानीबाट आम्दानी दिने अवस्थामा पुगेका बोटबिरुवा तथा खेतीयोग्य जमिन नष्ट भएपछि किसानको जीविकोपार्जनमा समेत समस्या थपिएको छ ।

मगर र छन्त्याल समुदायको बसोबास रहेको चिनाखेतका बासिन्दाले व्यावसायिक कृषिमार्फत आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखेका थिए । तर, बस्तीमाथिको पहिरो र खोलामा आउने बाढीका कारण उनीहरूको मिहिनेत र भविष्यका योजनामाथि नै संकट उत्पन्न भएको छ ।

कृषक धनबहादुर थापाका अनुसार गाउँमै व्यावसायिक कृषि गरेर आत्मनिर्भर र स्वरोजगार बन्ने योजनामा बाढीपहिरो बाधक बनेको छ । खेतीपाती गर्ने जमिन नै जोखिममा परेपछि किसानलाई अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ताले सताएको छ ।

खानेपानी, खेलमैदान र सामुदायिक भवनमा क्षति
बाढीपहिरोले चिनाखेतका निजी सम्पत्तिमा मात्र नभई सामुदायिक पूर्वाधारमा समेत क्षति पुर्‍याएको छ । चिनाखेत–डाँडाखानी खानेपानी योजनाको मुहानमा रहेको ट्याङ्की पूर्ण रूपमा क्षति भएको छ । हिमचुली स्पोट्र्स क्लबको खेलमैदान र चिनाखेत आमा समूहको भवनसमेत पहिरोमा पुरिएका छन् ।

खानेपानी, सामुदायिक भवन र खेलमैदानमा क्षति पुगेपछि स्थानीयको दैनिक जीवन र सामुदायिक गतिविधिमा समेत असर परेको छ । बस्तीमाथिको पहिरो सक्रिय रहेकाले आगामी दिनमा थप क्षति हुनसक्ने चिन्ता स्थानीयमा छ ।

वडाध्यक्ष पुनका अनुसार गाउँ नै जोखिममा परेपछि भूगर्भविद्को टोलीबाट पहिरोको स्थलगत अनुगमन गराइएको छ । पहिरोको अवस्था अध्ययन गरी रोकथाम तथा नियन्त्रणका लागि बेनी नगरपालिका र प्रदेश सरकारसँग पहल गरिएको उनले बताए ।

थातथलो छाड्नुपर्ने बाध्यता
लगातारको बाढीपहिरोले घर र खेतबारी जोखिममा परेपछि चिनाखेतका बासिन्दा सुरक्षित बसोबासको विकल्प खोज्न बाध्य भएका छन् । वर्षौँदेखि बस्दै आएको गाउँ छाड्नुपर्ने अवस्था आउँदा स्थानीयलाई सम्पत्तिको क्षतिसँगै पुर्ख्यौली थलोबाट विस्थापित हुनुपर्ने चिन्ताले सताएको छ ।

स्थानीय मोती पुनका अनुसार बाढीपहिरोको जोखिम बढ्दै गएपछि गाउँ छाडेर अन्यत्र जाने विषयमा सोच्नुपर्ने अवस्था आएको छ ।

‘पटकपटक पहिरो र बाढीले सताउन थालेपछि चिनाखेतबासीले विकल्प खोज्न थालेका छौँ’, उनले भने, ‘बस्ने बास र कमाउने जमिन नै नभएपछि गाउँ नै छोडेर जानुपर्ने अवस्था आएको छ ।’

सुरक्षित आवासको व्यवस्था नहुँदा जोखिमयुक्त घरमा बसिरहने वा आफ्नो थातथलो छाडेर अन्यत्र जाने भन्ने दोधारमा छन् । खेतीयोग्य जमिन बगरमा परिणत भएपछि कृषि पेसामा आश्रित परिवारलाई दैनिक गुजारा चलाउनसमेत कठिन भएको छ ।

पुन:स्थापना र संरक्षणको पर्खाइ
चिनाखेतका बासिन्दाले जोखिमयुक्त घरमा बस्दै आएका परिवारका लागि अस्थायी आवासको व्यवस्था, सुरक्षित स्थानमा पुन:स्थापना तथा पहिरो र बाढी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न राज्यका निकायसँग माग गरेका छन् । बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि प्राविधिक अध्ययनका आधारमा दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको भनाइ छ ।

पहिरोको जोखिम न्यूनीकरण, क्षतिग्रस्त खानेपानी योजनाको पुनर्निर्माण र जीविकोपार्जनका आधार पुन:स्थापना हुनसकेमा मात्रै प्रभावित परिवारले सामान्य जीवनमा फर्किने आशा गर्न सक्नेछन् ।

यस वर्ष चिनाखेतका धेरै घरमा दसैँको तयारीभन्दा सुरक्षित बसोबासको चिन्ता ठूलो बनेको छ । कतिपय परिवारले आफन्त गुमाएका छन्, कतिपयले घरबार र खेतीपाती गर्ने जमिन । चाडपर्वले ल्याउने खुसीभन्दा विपद्ले दिएको पीडा गहिरो बनेको छ ।

0 Comments